नियम ८०
मुद्दा खर्च र क्षतिपूर्ति भराउने
मुद्दामा लागेको खर्च र क्षतिपूर्ति भराउने सम्बन्धमा देहाय अनुसार गर्नु पर्नेछः-

(क) कुनै ऐनमा मुद्दा गर्ने कुनै पक्षबाट मर्का पर्ने पक्षलाई मुद्दामा लागेको खर्च र क्षतिपूर्ति भराउने व्यवस्था र कार्यविधि उल्लेख गरिएको रहेछ भने सोही बमोजिम गरिनेछ।

(ख) मुद्दामा लागेको खर्च भराउने सम्बन्धमा खण्ड (क) मा लेखिए अनुसार कार्यविधिको उल्लेख गरिएको रहेनछ भने जित्ने पक्षले मुद्दामा तिरे बुझाएको रकम, दस्तुर, कानून व्यवसायीको बिल बमोजिमको शुल्क, विशेषज्ञ वा विज्ञको शुल्क लगायत मुद्वामा हुने वास्तविक खर्चहरू समेतलाई मध्यनजर गरी इजलासले भराउनु पर्ने खर्च यकिन गरी हार्ने पक्षबाट खर्च भराउन सक्नेछ।

(ग) मुद्दामा लागेको क्षतिपूर्ति भराउने सम्बन्धमा खण्ड (क) मा लेखिए अनुसार कार्यविधि उल्लेख गरिएको रहेनछ भने मुद्दाको प्रकृति, पर्न गएको वास्तविक क्षति, क्षतिपूर्ति भराउँदाको समयसम्मको ब्याज तथा बजार मूल्य र अर्का? पक्षले अदालतसमक्ष गरेको व्यवहारलाई समेत आधार मानिनेछ।

(घ) खण्ड (ग) बमोजिम क्षतिपूर्तिको रकम निर्धारण गर्न इजलासले आवश्यक ठानेमा मुद्वासँग सम्बन्धित विषयका विज्ञ वा सोही व्यवसाय गर्ने अन्य फर्म, कम्पनी वा वाणिज्य सङ्गठनहरूलाई बुझ्न सक्नेछ।